Tuesday, October 2, 2007

नुमाफुङ लिम्बु फिल्म को कथा

यो कथा स्व. काजीमान कन्दङवाद्वारा लिखित कथा हो । तत्कालीन नेराप्रप्रद्वारा प्रकाशित समकाली साहित्य, पूर्णाङ्क ७, २०४९ मा "कारोवार कि घरवार" शीर्षकमा प्रकाशित भएको यो कथामा अाधारित चलचित्र नुमाफुङ नवीन सुव्वाको निर्देशनमा वनिसकेको छ ।

!!~कुटुम्बहरु आउनु भयो । अब , कसरी खालि हात फर्काउनु "लौ नौ तोला सुन र ४०० रुपैया राख्नुहोस् अनि ,लैजानुहोस् ।" एक्लीको बावुले भने । कुटुनी अघि त निकैको हुँ जस्तो गरेर बोल्दै थिए, यो सुने पछि त लराक् लुरुक् हुनु पर्‍यो ।बेहुलो हुने केटो र उनको काकालाई बाहिर एकान्तमा लगेर कुटुनीले भने- "अब कसो गरौं त? बूढोले कुरा त खुस्काउँदै खुस्काउँदैन् , हँ ? " बेहुलो केटोले भन्यो – "अब त्यसै खुट्टा तान्नु त भएन नै , होइन र ? चारतोला सुन र नगदी ४०० रुपैया त राख्नु सकिएला है ।" उसको काकाले भने -'त्यसो त बेहुलो केटाको आँट हो । बिहे उसको नै त हो नि ।'कुटुनि अर्थात सरदारले त्यस पछि भने -' लैत ४तोला सुन र नगदी ४०० रुपैया गनिदिउ र हात जोडौं है । त्यति ले मानिदीएमा त राम्रै हो ' बेहुलो केटोको काकाले भने – "सुठीसारो सुनकै डल्ला त होइन है ! सुठी गर्न त उनले पनि हुँदैन नि !'' बेहुलो केटोले पनि भन्यो -''हुन्छ आउनु नआउनु अब आइहाल्यौं, मुख पनि छाडिहाल्यौ । के गर्नै जसो भएपनि आँट गर्नै पर्छ । हाँकैको भरमा खट्टातान्नु भएनत !'' एकान्त सकेर तिनै जना सिकुवामा आएर फेरी कुरा थाले । दुबै थरीले आफ्ना आफ्ना कुरा गरे । त्यो दिन पनि त्यसै बित्यो तर कुरा छिनीएन । केटी माग्न जाँदा कुराछिनोफाना नभै केटीको घरमा बास दिने रीत पनि उति हुदैन ।केटा पक्षका हरु माथिल्लो घरमा गएर बास बसे । भोलि फेरी कुरा चलाए , तै पनि बेढोले कुरा पटक्कै छाडेनन् । दुनियाँ खाएका , देखेका थिए ,बुढा । सिङौरी खेल्न आउने संग सिङ जोर्नै पर्छ । कुटुम्ब हरु सिङ फुस्काएर जान्छन् भने मेरो के जान्छ र ? तलमाथि ,यताउता,अघिपछिका सबै कुराहरु भए ; तै पनि बुढोले चलमल गर्ने ठाउँनै दिएनन् । अन्तमा एक्लिकै बवुको कुरामा झुक्नै पर्‍यो । केटा पट्टिका कुटुनिहरुको केहि सीपलागेन । त्यति गरेर एक्लिको बुवाको अगाडी राखिदीएर कुटुनि सरदारले भने -''आदाङबे-महोदय ! लौ नगदी ४०० रुपैया ४ तोलाको सुनको फुल , तिन तोलाको कानको चोप्टै सुन , १ तोलाको ढुङ्री र १ तोलको मुन्द्री राख्यौं । अब कसो भन्नु हुन्छ नी आदाङ्बे !''

यति सुनेर - देखेर एक्लिका बुवाले भने -''अब जे भने पनि कुरा सकियो नै । छोरी चेलि भनेको कुटुम्बकै लगि त हो नि । कुटुम्बहरुले जित्नु भो , मै हारें । '' त्यस पछि बेहुलो केटा तथा कुटुनी सबैका लागि खाने पिउने कुराको सुरसार सुरु भयो । सबै अघि तुङबा र जाँड राखिदीए । घर भित्र एक्लि रुन थाली । भोलि विहान सखारै बाटो लगाउने मतो मिलाए । एक्लिलाई लुगा फाटा फेर्राई दिन लागे । बन्दुक पड्काउदै एक्लिलाई १२-१५ जना लोकन्दी साथ लगाई बिदा गरे । सनाई बजाउने दमाईहरु पछि पछि लोकन्दी हिंडे । बेहुलोको घर पुगे पछि हर्क बर्ढाई गरेर ठुलौ बिहे भयो । यस्तो ठुलो बिहे गाउमा एक–दुइ मात्र भएका थिए । रात भरि च्याभ्रुङ नाच्ने हरु एक तरेली , धान नाच्ने हरु अर्को तरेली , मारुनी नाच्नेहरु अर्को तरेली । यसरी एक्लिको बिहेमा धेरै रङ्गी चङ्गी र ठुलो चहल पहल भयो । तीनदिनको दिनमात्रै लोकन्दीहरु बिदा भए । नयाँ बेहुलो एक्ली बिचरी भने रुदै रुदै एक्लै बस्नु पर्‍यो । यसरी नै वर्षदिन बितेर गयो । परम्परा अनुसार बुझाउने होक्तोबा आदि रीतहरु सबै बुझाई सकियो । अब दशै आयो । सासुससूराको हात बाट टीका आउनु नवविवाहितालाई अघि लाएर कुटुनी सरदार तथा भरौटेहरु साथ लिएर उ पनि पछि पछि हिड्यो । यसरी नौ वर्षपछि बर्षबितेर गयो । एक्ली उसको मायाको गाठो कसिएर झन् बलियौ भयो , दुबै खुसी थिए । मन बिचार मिलेका दुबै हाँसी खुशी बस्दै थिए तर कालको गति कसले देख्छ र ! एक दिन अचानक नै एकलीको पतिको मृत्यु भयो । एक्ली विधवा भई । १८-१९ बर्षे कल्कलाउदो बैसमा नै उसको सिउँदोको सिँदुर पुछियो ,गलाको पोते चुँडाउनु पर्‍यो र हातका चुराहरु फुटाउनु पर्‍यो । वर्षबिते । एक्ली माइत घर आएर बसी । किन हो किन उसलाई आफ्नो घरमा बस्नु पटक्क मन लागेन । माइत आएर बसेको पनि अब त धेरै भइसक्यो । सानैमा विधुवा भएर के भयो त ? कुटुम्बहरुका आँखा उ माथि नपरी छोड्दैन थिए । कति कति कुटुम्बहरु लाई एक्ली को बावु फर्काई सकेका थिए । रहनीमा एकदिन धनभक्त आफै एक्लीको हात माग्न आईपुग्यो । चलन अनुसार डेरामाग्ने रीतका लागि रक्सीको पोङ राखेर उसले कुरा चलायो । एक्लीको बावु बूढाले भन्न थाले - कर्मै फुटेकी हो यो मेरी छोरी । तर तपाईहरु आउनु भयो । अब कत्रो रीत छिनाएर हो भने हुन्छ नै । धनभक्त तर्फका कुटुम्बहरुले यस्तो कुरा सुने पछि अब कुरा हुने भयो भन्ने ठाने । कुटुनी सरदारले भने – "हामी हरुको कुरा मिल्छ जस्तो छ । बरु भनिपो हालौं कि !"एक्लीको बावु ले भने -"उही कात्रो रीत त हो नि । जे भएपनि अब नौ तोला सुन र चारसय नगदी कुटुम्बहरुले राख्नुहोस् । पहिलो पनि त्यही रीत नै गरेका छौं नि ।"

कुटुनी हरुको सातो गयो । फेरि खासखुस कुरा चले । धनभक्त ले जति भए पनि आँट गर्ने नै भयो । कुटुनी सरदारले भने -"अब जसो भन्नु हुन्छनै । कुरा बढी गरेर बेला मात्रै टर्छ , कुरा छेटो मिठो ।" अनि नौ तोला सुन राखेर ४०० रुपैया नगदी पनि गनिदिए ।

अब भने एक्लीको बावु को बोली नै हरायो । भरे भरे मात्रै वाक्य फुट्यो -"जति गरेपनि छोरीचेली कुटुम्बै हुने रहेछ । माइतीको माया मात्रै रहेछ । "यसपछि छोरी को कत्रो रीत बापत सुनौलिको नौ तोला सुन र आँसु पुछ्ने भनेर नगद ४०० रुपैया एक्लीको बावुले समाते । यी सबै सुनिरहेकी एक्लीलाई भने यस्तो उसलाई बेच्नेकाम पटक्क मन परेको थिएन । आमाचाहिँलाई रिसाउदै भनी "एक पटक मलाई बेचेर खायौ खायौ फेरीपनि मलाई बेचि खान्छौ । तिमीहरुको कमारी त होइन नि । म जाँदै जाँदिनँ ।" एक्लीलाई उसकी आमाले कति गाली गरी , अर्ती दिई, ललाइ फकाई तर केही सीप लागेन बूढो पनि घर भित्र पसेर कराउन थाले । बावुलाइ त एक्लीले झन् ठाडै छोपी । बुढोले भने -हेर नानि बावु आमाको मुख पनि त हेरि देउ । हामीले तँलाई जन्म दियौ , हुकार्यौ , तरुणी तुल्यायौं । के गर्नु , तेरो कर्मै त्यस्तो । नभए किन हाम्रो ज्वाँइले उमेरैमा मर्नु थियो र ? हामीले भनेर नहुने रैछ ।" यसरी धेरै कुरा गरेर एक्लीको मन र्फकेन । उसको मन पटक्कै मानेन । मरेका आफ्नो पतिको घरमा कसैले नदेखी सुटुक्क राती जाने बिचार गरी तर त्यसो गर्न पनि सकिन । गाउँका मानिसहरुले फकाई सम्झाई उसलाई माइतिघर नै फर्काई ल्याए । तर अझ पनि एक्लीको मन र्फकेन । हो, पहिलो पटक झैं एक्लीको आँखामा आँसु भने आएन ; रिसले हो कि के ले हो ऊ पक्क परेको परकै भई । मनमा केके सोचेर बसेकी हो केही पनि बोलिन । उसका साथिहरुले पनि अब त राजी भएकी होली नै भन्ने सम्झेर उसलाई लुगाफटो फेरी दिन थाले । सनाई बजाउने दमाईहरु अघि अघि लागे , लोकन्दी र जन्ती पछि पछि हिंडे । बिहेको जन्ती रमाइलो रङ्गी चङ्गी देखापर्‍यो । धनभक्तको बिहे पनि राम्रो र ठूलो बिहे भयो । बिहे सम्पन्न भएपछि अनेक रमाइलो गर्दै लोकन्दीहरु बेहुली साथ लिएर नै माइतीघर फर्किए । एक्लीको भने यसपल्ट देखि त माइती घरसँग मन चटक्क चुँडियो । माइतीघर पनि बस्ने अप्ठयारो लागेर आयो उसलाई । उसको बोलि चाली र रङ्ग ढङ्ग नै अर्कै जस्तो भएर बद्लियो । 'बिहे भएपछि त यसपटक एक्ली कति होशियार भै भई हँ......,भनेर गाउँकाहरु भन्थे । यसरीनै धेरै नबोलिकन बस्ने एक्ली भने एक दिन औसीको हाट भर्न भनेर गएकी फेरी घर र्फकेर आइन । आमाबावुले मान्छे कुदाएर ,धुइँपात्ताल खोजे, कता भास्सिई कोनि केहि अत्तोपत्तो लागेन । पछि सुनियो - एक्ली त झिगटी घरे लाहुरेसँग पो जारी गरेर मुङलान पसी रे ।

बिहे गरेकै साल स्वास्नी जारी गरेर अर्कै पोईसँग गएकीले धनभक्तको मन सारै दुख्यो नराम्रो लागेर आयो । आफ्नो इज्जत इमान गाउँघरमा उडेको खरानी झैँ हुँदा उसको छात्तीमा ठुलो धक्का लागेको जस्तो भयो । यसरी चोट खाएको धनभक्तले त्यस पछि अमिनीमा सरासर गएर माईती जरी भर्राई पाउँ भनेर आफ्नो ससुराको नाममा नालिस हाल्यो । सोह्र तोला सुन र दुइ हजार रुपैया नगदको दाबी गर्यो ।
निक्कै बर्ष वादी-प्रतिवादी भई दुवैतर्फाले मुद्दा खेदे । तर अन्तमा त अमिनीले धनभक्तकै पक्षमा फैसला गरिदियो । एक दिन धनभक्त गाउँका १५-२० जना लाठेहरुसंग अमिनीका सिपाही लिएर एक्लीको माईती अर्थात आफ्नै ससुरालीमा जारी उठाउन घोडा चढेर हिँड्यो । -

त्यसपछि एक दिन बिहान एक्लीका बावुले दसतिर खोजिमेली गरेर आफ्नो ज्वाइँको अगाडि राखिदिए -"१६ तोला सुन ,नगद रुपैया ८००, एक माउ भैसी, घोडा एक र एउटा खेतको तमसुक ।"ज्वाइँ धनभक्तले आफ्नो ससुराबाट राम्ररी हिसाब गर्दै थाप्यो -"१६ तोला सुन नगद रुपैया ८०० ,एक माउ भैसी , घोडा एक र एउटा खेतको तमसुक ।"अमिनी अड्डाबाट आएका बहिदारले फासैपत्र लेखे-लिखितम म धनभक्तले नगद रु.२००० दुइहजार जारीखत वापत बुझिकन भर्पाई गरिदियाँ..........।"कतिकति गरेर मागेका सुन , अहिले फर्काएको ,एक्ली पर्राई घर गएकी , फर्केकी ,आएकी .....के के के .....के..........मनमा कुरा लेखाउँदै ,एउटा हातले एक-पछिको गाला थामेर त्यत्रो समाजमा धनभक्तको ससुरा एक्लीका बावु चुपचाप बसिरहे...... .... ..... ।"

कथाकारः स्व. काजिमान कन्दङवा

1 comment:

Debin Limbu said...

story ta ramro rai6, yek patak hernu parne, abasari nai paiyeko chhaina hau lunga k garne.