Thursday, October 11, 2007

किरात धर्मको केन्द्रीय स्थल //माङसेबुङ//



किरात भाषामा माङ भन्नाले ईश्वर, से से भन्नाले पवित्र, शुद्ध, सफा र बुङ भन्नाले रहने स्थान वा स्थल भन्ने अर्थ लाग्छ। जसअनुसार माङसेबुङको शाब्दिक अर्थ हुन्छ, ईश्वरको पवित्र बासस्थान।
ोन्याश्रितरुपमा रहेको माङसेबुङ एउटा त्यस्तो डाँडा हो, जसको आठ पाटा छ, र आठै पाटामा पानीको मूहान पनि छ। जसमध्ये पश्चिमको पाटामा किरात धर्मावलम्बीहरुको केन्द्रीय माङहिम अवस्थित छ भने पूर्वपट्टीको पाटोमा किरात धर्मगुरु अङसीमाङ आत्मानन्द लिङ्देन सेइङको बासस्थान रहेको छ, जहाँबाट किरात धर्मदर्शनदाता बीसौं शताब्दीका महान समाज सुधारक मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनले ज्ञान प्राप्त गर्नु भएको जितपुर गाविसको फेदीमा माइखोलासँग सटिएर रहेको खत्रक्पा खोल्सी, लाम्पातेको रुख साथै अङसीमाङको ज्ञानभूमि तपोभूमि महमाई र देउमाई खोलाको दोभानमा अवस्थित फूलुङ्गी किरात धर्मावलम्बीहरुको जीवन्त अस्तित्वको रुपमा देख्न सकिन्छ।

किरात प्रदेश र लिम्बुवान प्रान्तको पर्यायवाची शब्दसँगै जीवन्त रहेको लिम्बु किरातका साँबा र योङहाङ थरीहरुको बाहुल्यता रहेपनि विभिन्न थर उपथरका राईहरुको समेत पुर्ख्यौली बसोबास रहेको माङसेबुङ डाँडाको शीरमा देवीथान छ, जसको शदियौंदेखि पूजा आराधना गर्ने कार्य चलिरहेको छ। किनकि, यहाँ शिकार खेल्दाखेल्दै आफ्नै बन्दूक आफै पड्केर आफैलाई लागि मृत्यु भएको एकाध पुस्तामात्र बितेको छ।

माङसेबुङ अर्थात ईश्वरको पवित्र बासस्थानलाई विभिन्न दृष्टिकोणले चिन्न सकिन्छ, जसमध्ये प्रमुखता पाएको छ, धार्मिक दृष्टिकोणले। एक दशकअघिसम्म मान्द्रे डाँडाको नामले परिचित यस ठाउँलाई अङसीमाङले नामाकरण गर्नु भएको हो, माङसेबुङ। किरात धर्मगुरु, गुरुमाता र केही चेलाभूलाहरु राष्ट्रको राजनीतिक अस्थिरतासँगै किरात धर्मग्रन्थ किरात साम्जीक मुन्धुमका ठेलीहरु बोकेर पूर्वाञ्चलका धेरै जिल्लाका सुगम र विकट विभिन्न स्थलहरुको भ्रमण निरीक्षणपश्चात् छनौटमा परेको ठाउँ हो, माङसेबुङ। सरकारी तथ्याङ्क अनुसार नेपालमा आठ लाख नाघेका किरात धर्मावलम्बीहरु एवं विश्वका विभिन्न स्थानमा बसेका किरात धर्मावलम्बीहरुको पूजा आराधना गर्ने केन्द्रीय स्थलको रुपमा रहेको माङसेबुङ मान्द्रे डाँडाबाट नाममात्र परिवर्तन नभई यसलाई हेर्ने, बुझ्ने विभिन्न दृष्टिकोणहरुसमेत फरक भएको छ।

किरात धर्मावलम्बीहरु करिब १०/१५ दिनको पैदल यात्रा पार गरेर, खाना बस्नको स्वयं व्यवस्था गरेर, घरेलु औजार प्रयोग गरेर आफ्नै बाहुबलले श्रमदानको रुपमा अथक परिश्रम गरेर पुगनपुग दुई वर्षे अन्तरालमा माङसेबुङको सहायक डाँडा पठार झैं बनाएका छन्, जहाँ किरात धर्मको हर विशिष्ट कार्यक्रममा हजारौं भक्तजनहरुको जमघट हुने गर्छ। त्यही माङसेबुङमा विशिष्ट मौलिक पहिचान बोकेको एउटा अत्याधुनिक भव्य केन्द्रीय किरात माङहिम निर्माणको पर्खाइमा वषौंदेखि बाटो कुरिरहेको छ, अथाह आशा, विश्वास छ भरोसा संगालेर बसेको छ।

नेपालको अलावा विश्वका विभिन्न मुलुकहरुमा आधिकारिक तथ्याङ्क अनुसार रहेका किरात धर्मावलम्बीहरुको निर्विकल्प केन्द्रीय स्थल हो, माङसेबुङ। जहाँ प्रत्येक वर्ष नियमितरुपमा केन्द्रीय स्तरको चारवटा कार्यक्रम हुने गर्छ, कात्तिक २५ गते मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती, मंसिर १८ गते अङसीमाङ आत्मानन्द लिङ्देनको जन्मोत्सव, माघ ५ गते बालीनाली लगाउनअघि गरिने पूजा खिबेक्वा याक्वा सेवा र फागुन ३ गते अङसीमामाङ पवित्रहाङमा साँबा लिङ्देनको जन्मोत्सव। साथमा युवा, पूजारी र कलाकारहरुको विभिन्न कार्यक्रमहरु हुने गर्छ। यसको अलावा अङसीमाङद्वारा अकस्मात कुनै देववाणी, धर्मोपदेश गर्नुपर्ने अवस्था सिर्जना भएमा अकस्मात विशेष कार्यक्रमको आयोजना हुने गर्छ।

ज्यादै पुरानो भएपनि विविध आरोह अवरोहका कारण निभ्न लागेको दिप झैं हुन पुगेको किरात धर्म विश्व शान्ति र मानव एकताको नारा सहित जगमगाएको छ। विश्वमा छाएको हत्या, हिंसा, कलह, वैमनश्यता जस्ता समाजलाई विश्रृंखलित पारि अशान्त बनाउने हर कार्यको समाधानको निर्विकल्प सूत्र किरात धर्मले बोकेको छ, त्यो हो विश्व शान्ति र मानव एकता। यसको सूत्र किरात साम्जीक मुन्धुममा रहेको अङसीमाङले बारम्बार उदघोष गर्नुभएको छ। र, विगत एक दशकदेखि यसकै खातिर कहिल्यै ननिभ्ने अखण्ड बत्ती र अखण्ड धुनी बाली नियमित माङसेवा यहाँको किरात हाङसाम मुजोत्लुङ माङहिममा हुँदै आएको छ।

किरात धर्मग्रन्थको शिक्षा दिने मूल उद्देश्यसहित खुलेको यहाँको किरात साम्जीक मुन्धुम निसामहिम नामक शिक्षालयमा सयौं शिक्षार्थीहरुले शिक्षा आर्जन गरिरहेका छन् भने हजारौंले शिक्षा हासिल गरिसकेका छन!।

No comments: